शोभाखर पन्थी, अर्घाखाँची । देउराली यातायात अर्घाखाँची प्रा.लि. ले संस्थामा सम्बद्ध गाडी धनी, मजदुर र कर्मचारीहरूलाई ७३ लाख रुपैयाँ राहत वितरण गरेको छ ।
प्रा.लि.ले निशेधाज्ञाका कारण करिब दुई महिना सम्म यातायात ठप्प हुँदा यातायात व्यवसायीले ठुलो क्षति व्यहोर्नुपरेकोले राहत रकम प्रदान गरिएको जनाएको छ।
प्रा.लि.ले गाडी धनिलाई प्रति गाडी ४३ हजार ,चालकलाई ५ हजार , सहचालकलाई २ हजार र कर्मचारीलाई ५ हजारका दरले करीब ७३ लाख रुपैया वितरण गरिएको अर्घाखाँची प्रा.लि.का अध्यक्ष गोबिन्द बन्जाडेले जानकारी दिनुभयो ।
अध्यक्ष बन्जाडेले कोभिड १९ का कारण धेरै व्यवसायी तथा त्यसमा काम गर्ने मजदुरहरु विस्थापित हुने अबस्थामा पुगेको भन्दै सहयोगको लागि राज्यको ध्यानाकर्षण गराउनु भयो । उहाँले निशेधाज्ञा समय अबधिको व्याज मिनाहा हुनुपर्ने ,व्यवसायीलाई न्यून व्याजदरमा ऋणदिने व्यवस्था मिलाउनु पर्नेमा जोड दिनुभयो ।
२०६१ सालमा स्थापना भएको प्रा.लि.मा हाल हाईस,जिप र मिनीबस गरि १ सय ६० वटा सवारी साधन रहेका छन् ।
अघिल्लो बर्ष व्यवसायी र मजदुरलाई करीब ८० लाख सहयोग गरेको प्रा.लि.ले कोभिड नियन्त्रण र रोकथामको निम्ति जिल्लाका सबै पालिकालाई रु १ लाख एक हजारका दरले सहयोग गरेको थियो ।
प्रा.लि.ले जिल्लाका बासिन्दालाई हरेक खालका विपत्तिमा सहयोग गर्दै आएको छ ।