काठमाडौं । अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाको मृत्यु भएको । जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्। जसअनुसार सिन्धुपाल्चोकका तीन, डोटीका तीन, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालीकोट, बाजुरा, बझाङ र प्युठानका एकरएकजना रहेका छन् ।यस्तै, बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । घाइतेमध्ये १० पुरुष, चार महिला, एक बालक र दुई बालिका रहेका छन् । बाढी, पहिरोमा परी अहिलेसम्म २२ बेपत्ता भएका छन् । जसमध्ये १५ पुरुष, पाँच महिला र दुई बालक छन् । उनीहरूमध्ये सिन्धुपाल्चोकका मात्रै २० र बाजुरामा एक र रुपन्देहीमा एकजना छन् । बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४, सल्यानमा आठ, दाङका चार र कञ्चनपुरकातीन गरी १०९ जनाको उद्धार गरिएको छ । उक्त घटनाबाट प्रभावित स्थानमा भएको क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रहरी कार्यालयबाट प्रहरी कर्मचारी उद्धारमा सक्रिय रूपमा संलग्न छन् । बाढी–पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घर–परिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने, अवरोध सडक हटाउने काम जारी रहेको छ ।