पोखरा- गण्डकी प्रदेश सभाको पहिलो बैठक बसेको दिन २२ माघ २०७४ मा आकर्षणको केन्द्र बनेका थिए, राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा ।
पहिलो पटक रोस्टममा बोल्न उभिएका थापाले बागलुङे लवजमा संघीयतालाई ‘हिराको सिक्रीले बाँधिएको भालु’ संज्ञा दिएपछि अरु पार्टीका सांसद मुखामुख गरेका थिए । संघीयताको विरोध गर्दागर्दै प्रदेशसभा सांसद भएका थापाले त्यही व्यवस्था जनताको अभिशाप भएको बताउँदा अरु दल चकित पर्नु स्वाभाविक थियो ।
थापाले सत्तारुढ दल, सत्ताको चरित्र र प्रवृतिमाथि संसदमा सधैं प्रश्न उठाइरहे । बागलुङ क्षेत्र नम्बर १ ‘ख’ मा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित सांसद थापाले प्रदेश सभा छिरेको ३९ महिनापछि पनि संसदमा संघीयताको विरोध नै गरे ।
संसदमा बोल्ने सांसदहरुमध्ये थापा चर्चाको केन्द्रमा रहे । मिडियामा पनि छाइरहे । लामो नबोल्ने, जे हो त्यही ठेट शब्दमा बोल्ने र लवजका कारण पनि उनी धेरैको ध्यान खिच्न सफल हुन्थे । सरकारलाई समर्थन गरे पनि प्रतिपक्षको लहरमा बस्ने थापा संसदमा आलोचनात्मक चेत प्रदर्शन गर्थे ।
तर १८ वैशाख ०७८ मा थापा निराश थिए, शब्दमा ब्यंग्यभन्दा बढी आक्रोश थियो । साविकको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि निर्माण भएको सत्ता समीकरण र त्यसमा आफ्नै भूमिकाले थापा सांसद पदबाटै हटाइने अवस्था बन्दै थियो ।