बुटवल । सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरेको छ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो ।
सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए।
सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ भने अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चितता पनि गरिसकेको छ ।
पहिरोको उच्च जोखिमको क्षेत्र रहेकाले सिद्धबाबा सडकमा लामो समयसम्म सुरुङमार्ग निर्माण गर्ने चर्चा चलेको भएपनि पहिरो न्यूनिकरणका अन्य सम्भाव्यताहरुको समेत अध्ययन भइरहेकाले सुरु भएको थिएन । तर अवभने निर्माण प्रक्रियाको औपचारिक थालनी भएको मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए ।
भारत सरकारको सहयोगमा झण्डै आधा शताब्द्यी अघि निर्माणकार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले सुरुङमार्ग बाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नती गरिरहेको छ ।