टेकबहादुर पुन, दाङ । लमहीमा हाइब्रेड धानको बीउ भन्दै एक एग्रोभेटले अर्को अबैध धानको बीउ बिक्री गरि किसानलाई झुक्याएको रहस्य बाहिर आएको छ ।
लमही बजार स्थित दर्शन एग्रोभेटले हाईब्रेड धानको बिउको नाममा अन्य धान बिक्री गरिरहेको रहस्य बाहिर आएको हो । लमही नगरपालिका वडा नम्बर ६ निवासी दुधराज चौधरी बैशाख १५ गते हाईब्रेड धानको बीउ खरिद गर्न दर्शन एग्रोभेटमा पुगे । उनले हाईब्रेड धानको बीउ खरिद गर्न चाहेको बताए । तर एग्रोभेटका संचालकले गोरखनाथ ५०९ धान लाई हाइब्रेड धान भन्दै बिक्री गरी पठाए । आफुले खरिद गरेको धानको बिल माग गर्दा पसल सञ्चालकले ‘गोरखनाथ’ लेख्न नमिल्ने भन्दै ‘धान हाईब्रेड’ मात्र लेखेर बिल काटेको चौधरीले गुणासो गरे ।
त्यस्तै लमही नगरपालिका वडा नम्बर ४ भैसकोर्मा निवासी बिष्णु चौधरीले मसिनो चामलहुने धानको बीउ खरिद गर्दा उनलाई पनि गोरखनाथ नै बिक्री गरेको गुणासो गरे । उनलाई भने पसल सञ्चालकले बिल नै नदिएको चौधरी बताउछन ।
एग्रोभेटका संचालक शिवराज न्यौपानेले गोरखनाथ ५०९ धान नै बिक्रीवितरण गरिरहेको स्विकार्दै बजारमा माग भए अनुसार अन्य एग्रोभेटले पनि बिक्रि बितरण गरिरहेको आरोप लगाए ।
नेपाल सरकार बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रले गोरखनाथ ५०९ धानको बीउलाइ हाइब्रेड धान नभएको पुष्टि गरेको छ । गोरखनाथलाई हाईब्रेडको सुचिकृत लिस्ट बाट हटाइ नेपालमा बिक्री वितरणमा रोक समेत लगाएको छ ।
कृषि ज्ञानकेन्द्र घोराहीले पनि गोरखनाथ ५०९ धानको बीउ हाइब्रेड नभएको भेटिए पछि राजपत्र बाट हटाइसकेको बतायो । यस्ता अबैध कामलाई नियन्तरण गर्न स्थानीय कृषि शाखा र जिल्ला प्रशासन कार्यलयले भुमिका निर्बाह गर्नुपर्ने ज्ञान केन्द्रका प्रमुख बुद्दी घिमिरेले बताए ।
मानो रोपेर मुरि फलाउने तयारीमा रहेका देउखुरीका कृषक धानको अबैध बीउबाट पीडित छन् ।
धानको ब्याड राख्ने चटारोमा रहेका देउखुरीका कृषक हाइब्रेड भन्दै नक्कली धानको बीउ बजारमा बिक्री हुन थालेपछि अन्योलमा परेका हुन् ।