काठमाडौँ । सरकार र नेत्रविक्रम चन्द विप्लवनेतृत्वको नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार राष्ट्रिय सभागृहमा कार्यक्रम गरी सरकार र विप्लवबीच सहपतिपत्रमा हस्ताक्षर भएको हो । सहमतिपत्रमा सरकारको तर्फबाट गृहमन्त्री रामबहादुर थापा र विप्लवनेतृत्वको तर्फबाट नेता प्रकाण्डले हस्ताक्षर गरेको हो । सहमतिपत्रमा हस्ताक्षर गरेसँगै विप्लवसमूहको नेतृत्वलाई मूलधारको राजनीति गर्न बाटो खुलेको छ ।
सहमति पत्र
१. दुबै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं ।
२ नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ ।
३ नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ ।
सरकारी वार्ता टोलीमा गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई तथा विप्लव नेकपाको टोलीमा खड्गबहादुर विश्वकर्मा र दीपक चलाउने थिए।
हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै सरकारले २०७५ को फागुन २८ मा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएको थियो।