सुरज भट्टराई , देवदह । रुपन्देहीको देवदहमा लुम्बिनी बौद्ध विश्व विद्यालयको डिनको कार्यालय उद्घाटन भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शुक्रबार कार्यालयको ल्यापटप मार्फत उद्घाटन गरेका हुन् । नेपाल सरकार मन्त्री परिषदको निर्णयले फागुन ११ गते लुम्बिनी वौद्ध विश्व विद्यालयको लागि देवदह नगरपालिका-८ , स्थित वुद्ध सामुदायिक वन क्षेत्रको करिव १०० विघा जग्गा उपलब्ध गराउने निर्णय गरेको हो ।
नेकपा महासचिव समेत रहनुभएका मन्त्री पौडेलले लुम्बिनी बौद्ध विश्व विद्यालयले अब देवदहको विकास सुरुवात गरेको बताउनु भयो । यो बेला योगदानको लागि प्रतिस्पर्धा गर्ने बेला भएको बताउदै उहाँले विकासको अभियानमा सबै लाग्न अनुरोध गर्नु भयो । उहाँले बनचौकी देखि मायादेवी पार्क बुद्ध परिपथ जोड्ने सडक ४ लेनको बाटो डिजाईन गरेर प्रस्ताव पठाउन आग्रह गर्दै कार्यान्वयन गर्न सहयोग गर्ने प्रतिवद्द्ता समेत व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरी, प्रतिनिधि सभा सदस्य छबिलाला विक्ष्वकर्मा , लुम्बिनी प्रदेश सभा सदस्य डा.कृष्ण न्यौपाने , देवदह नगरपालिका उप-प्रमुख विद्या लक्ष्मी गुरुङ, नेपाल भारत मैत्री संघका केन्द्रिय उपाध्यक्ष वासुदेव रिमालले अब देवदहबासिका खुशीका दिन आएको र यस कार्यमा पहल गर्ने सम्पुर्ण राजनीतिक दलका नेताहरुलाई धन्यवाद व्यक्त गरेका थिए । साथै कार्यलयका डिन उकेशराज भुजुले बिश्वबिद्यालयमा आजैबाट पठनपाठन सुरु भईसकेको जानकारी दिनुभयो।
कार्यक्रम लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपती डा. हृदय रत्न बर्जचार्यको अध्यक्षता र लुम्बिनी बौद्ध विश्व विद्यालयका रजिस्ट्रार डा तिलक आचार्यको संचालनमा भएको थियो ।