रुपन्देही। रोटरी इन्टरनेसनल डेको अवसर पारेर रुपन्देहीमा हाफ म्याराथन हुने भएको छ।
रोटरी क्लब अफ भैरहवाको आयोजनामा फागुन २२ गते २१ किलोमिटर दुरीको खुल्ला हाफ म्याराथन हुने आयोजकले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्। म्याराथनमा विभागीय खेलाडीहरुसहित ३ सय बढीको सहभागिता हुने क्लबका अध्यक्ष शिवहरि शर्माले जानकारी दिए। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको उत्तर ढोकाबाट सुरु भई सिद्धार्थ राजमार्गको शंकरनगर, मणिग्राम, कोटिहवा, पडसरी, अञ्चलपुर, बुद्घचोक, बर्मेलीटोल, नारायणस्थान पथ हुँदै भैरहवाको सानु डिपार्टमेन्टल स्टोर चोकसम्म म्याराथन हुनेछ।
‘खेल क्षेत्रलाई चलायमान बनाइ राख्न र खेलाडीहरुलाई प्रोत्साहन गर्न क्लबले म्याराथन आयोजना गरेको हो’, अध्यक्ष शर्माले भने।हाफ म्याराथनमा प्रथम हुनेले नगद १ लाख रुपैयाँ प्राप्त गर्ने छन्। यस्तै, दोस्रोले ७५ हजार र तेस्रो स्थान हासिल गर्नेले नगद ५० हजार तथा सान्त्वना पुरस्कार दुई जनालाई नगद ५ हजार १ सय रुपैयाँ प्रदान गरिने क्लबले जनाएको छ।
क्लबले दुई वर्षअघि विश्व पोलियो दिवसको अवसरमा इन्डो पोलियो नारासहित १२ किलोमिटरको दौड गरेको र यसपल्ट थप परिस्कृत गरी हाफ म्याराथन आयोजना गरिएको कार्यक्रम संयोजक राजकुमार गुप्ताले जानकारी दिए।
‘क्लबले स्वस्थ्य, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा काम गर्दै आएको छ। हामीले कयौं विपन्न परिवारलाई सहयोग गरेका छौं, खेल क्षेत्रको विकासमा निरन्तर लागि रहेका छौं’, गुप्ताले भने।
पत्रकार सम्मेलनमा बोल्दै कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले लुम्बिनी क्षेत्र खेलकुदमा अगाडि रहेको बताउँदै २२ गते आयोजना हुने हाफ म्याराथनमा पनि लुम्बिनी क्षेत्रबाट उल्लेख्य सहभागी हुने विश्वास गरे। म्याराथनलाई मारुती फुडपार्क (काठमाडौँ गेट प्रिमियर बासमती राईस)ले मुख्य प्रायोजन गरेको छ। यस्तै, नेपाल अम्बुजा सिमेन्टले सहप्रायोजन गरेको आयोजकले बताएका छन्।
आयोजकका अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। प्रतियोगितामा रोटरी क्लब अफ बुटवल, रुपन्देही, सेन्ट्रल लुम्बिनी, बुटवल डाउनटाउन, बुटवल साउथ, सेन्ट्रल बुटवल, लुम्बिनी सिद्धार्थ, सेन्ट्रल रुपन्देही, पाल्पा लुम्बिनी लगायतका रोट्रयाक्ट क्लबहरुको सहकार्य रहेको छ।