काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली नेकपाकै अर्को समूहका नेताद्वय प्रचण्ड र माधव कुमार नेपाललाई भगौडाको संज्ञा दिएका छन् ।
कैलालीको धनगढी सुदूरपश्चिमस्तरीय जनसभालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड माधवलाई कटाक्ष गर्दै भगौडाको संज्ञा दिएका हुन् ।‘तपाईहरूले केही भगौडाहरुको कुरा सुन्नु भएको होला । केन्द्रीय कमिटीको बैठकमा नआएर सडकमा गए, गाली गरेर, पत्रपत्रिकामा लेखाएर हामी यता छौँ भनेका छन् । उहाँहरूका समर्थकहरू गालीगलौज गरेर हिँडेका छन्। हामीलाई गाली गर्ने फुर्सद छैन। हामी दन्तबजान गर्दैनौं,’ ओलीले भने । भीम रावलले मन्त्री भएको बेला मात्र आफूलाई ठिक भन्ने तर, मन्त्री नबन्दा विरोधी बनेको पनि उनले आरोप लगाए ।
‘बाहिर–बाहिर राष्ट्रवादी देखिने, नक्सा छाप्दा सरकारको विरोध गर्ने । मैले मन्त्री बनाएका बेला मात्र केपी ओली ठिक थियो भन्ने । उहाँलाई पिर पर्यो’, ओलीले भने ।
उनले ‘पिलो निचोरेर वजन कम नहुने’ भन्दै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालप्रति व्यङ्ग्य समेत गरेका छन् । सम्बोधनका क्रममा उनले मन्त्री नबनाउँदा कतिपय आफ्नाविरुद्ध लागेको आरोप लगाए ।
‘जीवन शर्माको एउटा गीत छ नि, पिलो निचोरिँदैमा वजन कम हुँदैन,’ प्रधानमन्त्रीले ओलीले भने, ‘यो देश बनाउने उद्देश्य कमजोर भएको हुन्न, यो देशको जनतालाई सुखी र समृद्ध बनाउने उद्देश्य कमजोर भएको हुन्न ।’
उनले आफ्नो खराब तत्वहरुलाई जनताले नै ठेगान लगाउनुपर्ने नत्र माथि (सत्तामा) गएर दुःख भन्दै धनगढीवासीलाई त्यस्ता तत्वलाई भोट नहाल्न समेत आग्रह गरे । उनले निर्धारित मितिमै चुनाव हुने दाबी गरे । प्रधानमन्त्री ओलीले आफू ५० वर्षअघि गणतन्त्रका लागि संघर्ष गरेको तर अहिले कतिले गणतन्त्र नै खतरामा पारेको भन्दै टिप्पणी गरेको बताए ।