काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पार्टीको प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको सचिवालय बैठकमा बाँडेको प्रस्ताव अराजनीतिक र भ्रमको पुलिन्दा भएको बताउनुभएको छ । शनिबार दिउँसो सामाजिक सञ्जाल फेसबुक मार्फत टिप्पणी दिँदै नेता थापाले प्रचण्डले बाँडेको प्रस्ताव स्वंयममा अनधिकृत रहेको उल्लेख गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ ‘अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनाेमानीपूर्ण ढंगले बाँडेकाे अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमकाे पुलिन्दा र तथ्यकाे नांगाे भ्रष्ट्रीकरण हाे ।’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार समेत रहनु भएका थापाले प्रचण्डले बाँडेको लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल समेत हुन नसक्ने बताउनुभयो ।
उहाँले भन्नुभएको छ ‘पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षकाे सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेकाे निर्णयकाे याे ठाडाे उल्लंघन हाे । यसलाई फिर्ता नगरी नेकपाका कुनै तहका बैठक र छलफल गर्ने त के सम्वाद पनि शत्रुवत् र निरर्थक बन्न पुगेकाे हुनाले अविलम्ब फिर्ता गरिनुपर्छ ।’