काठमाडौँ, २७ कात्तिक । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्पूर्ण पारिश्रमिक र उपप्रधानमन्त्री, मन्त्रीहरुको ५० प्रतिशत तलब कोरोनाभाइरस रोकथाम, नियन्त्रण कोषमा जम्मा हुने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले २०७७ कात्तिकदेखि चैतसम्मको तलब कोषमा जम्मा हुने बताए ।
त्यस्तै, सरकारले अन्तर्राष्ट्रिय सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको संक्रमण बढ्दै गएकाले सीमा नाका मंसिर ३० गतेसम्म बन्द गर्ने निर्णय गरिएको प्रवक्ता गुरुङले बताए । यद्यपि नेपाल आउनैपर्ने हुँदा तोकिएका नाकाहरुबाट आउन पाइनेछ ।
उनका अनुसार अब उद्दार उडान नहुने भएको छ । कोभिडका कारण विदेशमा अलपत्र १ लाख ३६ हजार २१६ जनालाई उद्दार गरी स्वदेश फर्काइएको उल्लेख गर्दै उनले अब नेपाल आउनै पर्ने नागरिकहरुको हकमा नियमित उडानबाट ल्याउने व्यवस्था मिलाउने बताए ।
त्यस्तै, स्वास्थ्य सुरक्षा अपनाएर खेलकुद प्रशिक्षण पनि खुला गरिएको छ । ओलम्पिक खेलकुदमा सहभागिताका लागि छनोट हुने खेलका प्रशिक्षण सुरु गर्न, फुटबल, क्रिकेट लगायतका खेलहरुको अन्तर्राष्टिय स्तरमा सहभागिता जनाउन सरकारले अनुमति दिएको हो ।
प्रवक्ता गुरुङले मैत्रिपूर्ण खेलहरु आयोजना गर्न, स्थगित रहेका फुटलब डिभिजनका खेलहरु सञ्चालनको तयारी गर्न र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरुमा सहभागिताका लागि प्रशिक्षण लगायतका तयारी गर्न पनि सरकारले स्वीकृति दिएको बताए ।
त्यस्तै, मल कारखाना स्थापनाका लागि अर्थमन्त्रीको नेतृत्वमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र कृषि तथा पशुपंछी विकास मन्त्रीसहितको तीन सदस्य रहेको समितिले अध्ययन गर्ने भएको छ । बंग्लादेशबाट जीटुजी माध्यमबाट मल खरिद गर्ने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले सबै संघीय र प्रदेश कार्यालयहरुमा विद्यूतिय सरकारी लेखा प्रणाली र संघ र पदेशका सबै कार्यालयहरु तथा स्थानीय तहमा सार्वजनिक सम्पत्ति व्यवथापन प्राणाली लागू गर्ने निर्णय गरेको छ ।
बलात्कारपछि हत्या गरिएकी सम्झना कामीको परिवारलाई ३ लाख रुपैयाँ आर्थिक सहयाता दिने पनि सरकारले निर्णय गरेको छ ।
त्यस्तै, किजा पूजाको अवसरमा सरकारले भाइटीकाको भोलिपल्ट मंसिर २ गते सार्वजनिक विदा दिने पनि निर्णय गरेको छ ।