कविता : ‘म क्वारेन्टाइनमा छु’

– पुष्कर रिजाल

सात समुन्द्र पारिबाट
हावाको लहर छिचोलेर
आए पनि
आँगनमा पाइला नहाल्दै
बा-आमाको चरण नछुँदै
प्यारीलाई अँगालो नहाल्दै
मलाई टुलुटुलु हेर्ने अबोध
तामाका मुनाझैँ मुटुका टुक्रालाई
काखमा नलिएरै
कुनै अदृश्य महामारीको भयले
यहाँ पठाएथ्यो !
मेरो त के कुरा भो र, देशको माटो टेकेरै
नाचेको छ मन मुटु !
तल्लो घरको रने
सीमामै
देश छिर्ने परमिट नपाएर हप्तौँ कुरेपछि
देश टेक्ने रहर
छातीमै लुकाएर
भएथ्यो प्राणान्त !

आमा !
नरुनू ‘छोरो भोकै पर्छ कि’ भनेर
बा पीर नगर्नू; ‘छोरो केमा सुत्छ’? भनेर
प्यारी चिन्ता नगर्नू; ‘कीराकाँठाले टोक्छन् कि’ भनेर

नानी-बाबु निराश नहुनू
‘बाबाले ल्याएको चकलेट र चाची पाइन’ भनेर !
म त
अदृश्य विषाणु पर्गेल्दै
ठुलो युद्ध लड्दैछु
कतै रहेछ भने पनि कोरोना
अवस्य पराजित हुनेछ !
म स्वस्थ छु र सुरक्षित छु;
खाने र बस्ने
सरकारी सुविधा पाएकै छु
सरकारको निगरानीमा
आफ्नो प्राण सुम्पेको छु
नियमित स्वास्थ्य परिक्षण सेवा पाएको छु
मर्न आएको कहाँ हूँ र !
मैले
समाजमा जोखिम बढाउन चाहन्न !
हो त्यसैले त म
यहाँ छु !
म क्वारेन्टाइनमा छु !!

उप प्राध्यापक, मध्यपश्चिमांचल विश्वविद्यालय, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर !

Sharing Now!

You might also like

Leave A Reply

Your email address will not be published.