जीवन न्यौपाने, नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको सुनवल नगरपालिका ११ स्थित मिश्रौलीका ४० वर्षीय बिष्णु प्रसाद भण्डारी ६ वर्ष अघिसम्म रोजगारीको लागि भारतमा थिए ।
त्यहाँ राम्रो कमाई नभएपछि घर फर्किएका उनि गाउँमै ज्याला मजदुरी गरि श्रीमती र १ छोरासहित ३ जनाको परिवार पाल्दै आइरहेका थिए । बस्नका लागि सामान्य ब्लकको गारो र टिनले छाएको सानो घरबाहेक सम्पत्तिको नाममा उनिसङ्ग केहि थिएन । आफुले दिनभरि मजदुरी गर्ने र श्रीमतीले घर नजिकैको विद्यालयमा पिउनको जागिर गरेर आएको कमाईले परिवारमा जसोतसो बिहान बेलुका हातमुख जोर्न पुगेकै थियो भने १३ वर्षीयछोरालाई ६ कक्षासम्मको शिक्षा दिइरहेकै थिए । सानो मान्छेका सानै सपना भने जस्तै छोरालाई धेरैथोर पढाउने र बिहान बेलुका दुई छाक खानपाए त्यहाँभन्दा ठुला सपना उनिहरुसंङ्ग थिएन । गत मंसिरको अन्तिमतिर बिष्णुलाई घाटी दुख्ने समस्या देखा पर्यो । स्थानीय मेडिकलबाट औषधि ल्याएर सेवन गर्दा समेत दुखाइ कम नभएपछि सबैको सल्लाहअनुसार उनलाई पुरानो मेडिकल कलेज भरतपुरमा पुर्याइयो । पुरानो मेडिकल कलेजले उनको आर्थिक अवस्था कमजोर भएको बुझेपछि क्यान्सर रोगको शंका गरि त्यहाँ उपचार हुन नसक्ने भन्दै बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल लैजान सुझाए । पुरानो मेडिकल कलेजको सल्लाह अनुरुप भण्डारीलाई उपचारको लागि पुष महिनाको सुरु तिर बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा लगियो । सोहि अस्पतालका डाक्टर दिलिप कर्माचार्यले उनको स्वास्थ्य अवस्था जांच गरी पहिलो चरणको जिब्रोको क्यान्सर भएको पुष्टि गरे । खान लाउन समेत धौधौ हुने परिवारमा श्रीमानलाई क्यान्सर जस्तो गम्भीर रोग र खर्चिलो उपचार पद्धति सुन्दा श्रीमती दीपा छांगाबाट खसेजस्तै भैइन । दीपा न त भर्खर ४० पुगेको श्रीमानलाई गुमाउन सक्थिन न त १३ वर्षको छोरोको भविष्य नै बिगार्न चाहन्थिन । आफुसंङ्ग साथमा भएको केहि रकमले श्रीमानलाई सोहि अस्पतालमा भर्ना गरेर औषधोपचारमा लाग्नु सिवाय दीपामा अन्य कुनै विकल्प थिएन । सोहि अस्पतालमा सुरुमा २२ दिनसम्म भर्ना गरि उनलाई क्यान्सरको संक्रमण अन्य ठाउँमा फैलिन नदिन र घाउ सुकाउनको लागि रेडियोथेरापी माध्यमबाट (क्यान्सर भएको भागमा सेक्ने काम) उपचार गर्दै राखियो । केहि दिन अस्पतालमा औसधि उपचार गर्दा आफुसंङ्ग भएको सबै रकम सकिएपछि आफ्ना श्रीमानसङ्गै दीपा घर फर्किइन । घर फर्केपछि श्रीमानको थप उपचारकालागि रकम अभाव भएपछि दीपा गाउँगाउँमा चन्दा रकम सहयोग माग्दै हिडिन । स्थानीय संघसस्था, आमा समुह, छरछिमेक, विभिन्न विद्यालयबाट गरि उनले झन्डै २ लाख रुपैयाँ जति चन्दा संकलन गरिन । त्यसपछि पनि अस्पतालले हप्तैपिच्छे बिरामीको घाउमा सेक्न आउनुपर्ने बताएकाले दीपाले आफ्ना श्रीमानलाई हरेक आइतबार देखि बिहीबारसम्म (हप्ताको ५ पटक) सार्वजनिक गाडीबाटै घरदेखि भरतपुर अस्पतालसम्म लैजाने र ल्याउने गरिरहिन । अहिलेसम्म ३५ पटक बिरामीको घाउमा रेडियोथेरापी माध्यमबाट सेक्ने काम भयो । यो बिचमा आफुसङ्ग भएको र चन्दाबापत संकलन भएको झन्डै साढे २ लाख रुपैयाँ खर्च भयो । कोभिड-१९ को संक्रमणको जोखिम बढेको भन्दै चैत्र ११ पछि देशभर लकडाउन गरियो । बिरामीको घाउमा असोज महिनासम्म निरन्तर सेकिरहनुपर्ने र असोजको पहिलो साता घाउको स्थिति सुधार भएनभएको पत्ता लगाउन एमआरआइ गर्नुपर्ने बताउदै त्यो अबधिसम्म घाउ सेक्नको लागि हप्तैपिच्छे अस्पताल आउन उपचारमा संम्लग्न डाक्टरहरुले बताएका थिए । तर लकडाउन भएसङ्गै सार्वजनिक यातायात बन्द भएका कारण दीपाले रकम अभावमा श्रीमानलाई गाडी रिजर्भ गरि अस्पतालसम्म लैजान सकिनन् । गत असारमा लकडाउन केहि खुकुलो भएपछि सिमित सार्वजनिक यातायात चल्न थालेको मौका छोपि दीपाले श्रीमानलाई अस्पताल पुर्याइ घाउ सेकाएर फर्किइन । त्यसलगत्तै पुन लकडाउन थपिएपछि भने दीपाले गाडी रिजर्भ गरि श्रीमानलाई पटकपटक उपचारमा लान सक्ने स्थिति बनेन । उपचारमा लान नसकेपछि र अस्पतालले दिएको औसधि सकिएपछि पछिलो समय बिष्णुको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । गहभरी टिलपिल आंसु बोक्दै दीपा भन्छिन् ” दैनिक जसो घाउ दुखेर मुर्छा पर्नुहुन्छ, कहिले त छिमेकीलाई बोलाएर रातभरि कुरेर बस्छौं” । उनले भनिन् ” नजिकैको मेडिकलबाट औषधि ल्याएर खुवांउछु तर दुखाइ अलिकति पनि कम हुँदैन ” । चन्दा बापत संकलन भएको रकम पनि सबै सकिएपछि अब श्रीमानको थप उपचार गर्ने सक्ने उपाय दीपासङ्ग छैन । न त खेतबारी बेच्न जग्गाजमिन नै छ न त ऋण कसैले नै पत्याउछन् । अब केहि समय निरन्तर घाउ सेकिरहने र औसधि खाइरहने हो भने बोल्न नसक्ने भएपनि सामान्य काम गर्ने सक्ने गरि श्रीमान निको हुने भन्दै त्यसको लागी अझै करिब २ लाख रुपैयाँ भन्दा बढी रकम खर्च हुने डाक्टरले बताएको दीपाले सुनाइन् । तर सोहि रकम पनि जुटाउन नसक्दा थप उपचार गर्न नसकि कतै श्रीमानको अल्पायुमै मृत्यु पो हुने हो कि भनि दीपाको मनमा चिसो पस्न थालेको छ । दीपाले आफ्नो श्रीमानको जीवन रक्षा र सानो छोरोको भविष्यका लागि ग्लोबल आइएमई बैंक भुमही शाखामा दीपा भण्डारीको नाममा रहेको आफ्नो खाता नम्वर [B407010000320] मा सहयोग रकम जुटाइदिन र मोबाइल नम्बर 9819412385 मा सम्पर्क गरि सहयोग गर्न सबैलाई आग्रह गरेकी छिन् ।