पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाइएको छ ।
चौथो पटकसम्म लगाईएको निषेधाज्ञालाई खुकुलो बनाउदै जिल्लाको पसल व्यवसायदेखि सरकारी कार्यालयको कामलाई सहज बनाइएको हो । जिल्लामा साउन ३१ देखि पटक पटक समय थप गरेर निषेधाज्ञा लगाइएको थियो । आइतबारदेखि खुकुलो बनाइएको आदेश भदौ ३१ गतेसम्मका लागि हो । संक्रमितसँगै भिडभाड बढ्दै गए पुन ः निषेधाज्ञालाई कडा बनाईने प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
जिल्ला सुरक्षा समितिको शनिबार बसेको बैठकले गरेको निणर्यमा किराना पसल, कपडा तथा फेन्सी पसल, बिजुलीका सामान, भाँडाकुडालगायतका पसलहरु दिउँसो ११ देखि साँझ ५ सम्म खुला रहने छन् । तरकारी, फलफुल पसल, दुग्धजन्य पसल र माछा मासु बिक्री वितरण गर्न बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म पाइने छ । अत्यावश्यक उद्योग, कलकारखाना पनि खोल्न अनुमति दिइएको छ । निर्माण सामग्रीका ढुवानीलाई पनि खुला गरिएको छ । कुनै पनि सार्वजनिक यातायात चल्न पाउने छैनन् । शैक्षिक संस्था सञ्चालन, मेला ,महोत्सव, गोष्ठी, सैलुन पसललगायत भिडभाड हुने क्षेत्रमा रोक लगाइएको छ । बैंक तथा वित्तिय संस्थाहरुले सम्पर्क व्यक्ति तोकेर सेवा दिन सक्ने छन् ।
त्यसैगरी सर्वसाधारणको सबैभन्दा बढी भिडभाड हुने मालपोत कार्यालय र नापी कार्यालयको काममध्ये प्रकृति तोकेर खुला गरिएको छ । मालपोत कार्यालयमा अंशवण्डा र राजीनामाबाहेक सबै सेवा सुचारु हुने निमित्त कार्यालय प्रमुख बेलप्रसाद भण्डारीले बताए । विगतमा टोकन प्रणाली लागू गरेकोमा त्यसलाई हटाइएको छ । हरेक बार एउटा स्थानीय तहको काम मात्र हुने छ । त्यसैगरी नापी कार्यालयले पनि स्थानीयतहहरुलाई बार तोकेर काम सुरु गरिने नापी कार्यालय प्रमुख सुग्रिव यादवले जानकारी दिए ।