सल्यान । सल्यानको पश्चिमी क्षेत्र वनगाड कुपिण्डे नगरपालिकामा बदेलको बथानले मकैबाली सखाप पार्न थालेका छन् ।
नगरपालिकाका केही बस्तीमा बँदेलको बथानले पाक्नै लागेको मकैबाली सखाप पारेका हुन् । बँदेलले वनगाड कुपिण्डे नगरपालिका– ९ का गीठाचौर, स्वारा, शेरा र शारदा नगरपालिकाका ओखरेनी, ¥याले, अँधेरीलगायतका गाउँमा बँदेलेको समूहले मकैबाली तहसनहस पार्न थालेपछि किसान चिन्तित भएका छन् ।
नजिकैका जङ्गलबाट आएको बँदेलको बथानले पाक्नै लागेको मकैबाली नष्ट पारेपछि किसान चिन्तित हुन थालेको पीडित काशीराम बोहराले जानकारी दिए । दिनभरि जङ्गलमा बस्ने र राति भएपछि बारीमा आएर मकै नष्ट पार्न थालेको बोहोराको भनाइ छ । “परिवारको वर्षभरि पेट पाल्ने मकै दुई दिनमा बँदेलले तहसनहस पारिसके अब कसरी परिवारको गर्जो टार्ने चिन्ता लाग्न थालेको छ”, बोहोराले भने।जिल्लाको पश्चिमी क्षेत्रमा बस्ती नजिक घना जङ्गल भएकाले पनि वर्षेनी स्थानीय जङ्गली जनवारबाट प्रभावित भइरहेका छन् । बँदेलले हरेक वर्ष यस क्षेत्रका करिब ४०० घरधुरीले लगाउँदै आएको अन्नबाली नष्ट पार्दै आएका छन् ।
पछिल्लो समय जिल्लामा चोरी शिकारीसमेत रोकिएकाले जङ्गलमा बँदेलको सङ्ख्यामा वृद्धि भएकाले पनि वर्षेनी बालीनालीको क्षतिमा पनि वृद्धि हुँदै गएको पीडित किसानको भनाइ छ ।