भैरहवा। नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड सदस्यमा भैरहवाका धर्मराज गिरी मनोनित भएका छन् । गिरीसहित छुम्बी लामा पनि मनोनित भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले क्यान सदस्यमा गिरीलाई मंगलबार मनोनित गरेको हो ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ बेलहिया निवासी धर्मराज मदन भण्डारी स्पोटर्स एकेडमी अन्तर्गत केन्द्रीय क्रिकेट विभागका उपप्रमुख हुन् । उनले पश्चिमाञ्चल क्रिकेट समिति क्षेत्र नम्बर ४ को सदस्य, रुपन्देही क्रिकेट संघको सदस्य र उपाध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन् । गिरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला कमिटी सदस्य र खेलकुद महासंघ रुपन्देही सह–इञ्चार्जको जिम्मेवारी बहन गर्दै आएका छन् ।
गिरीले क्रिकेट खेलको विकासको लागि आफु निरन्तर लाग्ने बताए । क्यानको बोर्ड सदस्यमा मनोनित भएपछि थप जिम्मेवारी पाएको अनुभुति गरेको छु, खेलाडीहरुलाई परेका समस्याको समाधानमा लागिपर्नेछु, उहाँहरुको मनोबल उच्च पार्ने काममा लाग्छु, उनले भने ।
भैरहवामा रहेको सिद्धार्थ रंगशालामा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजनाको लागि पहल गर्दै यस क्षेत्रको खेलकुदको विकासलाई अगाडी बढाउने उनको भनाइ छ ।
रुपन्देही क्रिकेट संघ रुपन्देहीका अध्यक्ष समेत रहेका नेपाल क्रिकेट संघ (क्यान) का केन्द्रीय सदस्य प्रशान्त विक्रम मल्लले भैरहवाका धर्मराज गिरी क्यानको बोर्ड सदस्यमा मनोनित भएकोप्रति आफु खुशी भएको बताए ।
प्रदेश ५ खेलकुद विकास समिति सदस्य उमा अधिकारीले पूर्व खेलाडी समेत रहेका धर्मराज गिरी क्यानको बोर्ड सदस्यमा मनोनित भएपछि क्रिकेटको विकासमा निश्चय नै टेवा पुग्ने बताइन् ।