राम बहादुर बिश्वकर्मा, प्युठान। असार नलाग्दै प्युठानमा बर्खे धान रोपाइँ सुरु भएको छ। सिँचाइ सुविधा पुगेका झिमरुक नदि किनारमा रहेका फाँटहरुमा जेठ लागेपछि धान रोपाइँ सुरु भएको हो । खोलाको पानीलाई कुलोमार्फत लगेर धान रोपाइँ गरिएको छ। प्युठान नगरपालिका – ४ का छबिलाल नेपालीले सिँचाइ सुविधा भएकाले फाँटमा धमाधम रोपाई भइरहेको बताए।’ आलोपालो गरेर धान रोपेका छौँ’ उनले भने,’सिँचाइ सुविधा छ,त्यसैले गाह्रो छैन।’
प्युठानको झिमरुक फाटका किसानहरू हिजोआज खेत खन्ने, आली लगाउने, बिउ उखेल्ने र रोप्ने काममा व्यस्तछन् । किसानले गोरुको साथै पावर टिलर प्रयोग गरेर खेत जोतिरहेका छन्।जिल्लाको मुख्य धान उत्पादनको केन्द्रका रुपमा ख्याती कमाएको यो फाँटका खेतैभरी रोपार,बाउसे, हलिले भरिएको देख्न सकिन्छ ।यो समयमा झिमरुक फाट, मरन्ठाना, माडि खोलामा रहेका खेतहरुमा धान रोप्ने समय भएकाले फाँट भरिभराउ भएको हो।
आलोपालो रोपाईँ
कोरोना भाइरस (कोभिड १९ )का कारण बिश्व नै लकडाउन भएकाले यहाँका कृषकले पर्म गरेर धान रोप्न थालेका छन् । पर्म प्रथा अनुसार धान रोप्न सहज हुने गरेको कृषकले बताएका छन् । आलोपालो गरेर एकअर्कामा संघाउने कामलाई गाउँघरमा पर्म भनिन्छ।
“पर्म गरेर नै धान रोप्ने र काट्ने गरिन्छ,” प्युठान नगरपालिका ४ का पुजा सापकोटाले भनिन ‘ मिलेर काम गर्दा सजिलो भएको छ।’ “ कामको चाप हुँदैन । ‘श्रमिकलाई दिने पैसाको पनि बचत हुन्छ” उनले भनिन ।काममा सहयोग गरेको घरको कृषकले खाजाको व्यवस्थापन समेत गर्ने उनले बताईन । बाली लगाउँदा र घरमा भित्राउदा सामूहिक रुपमा काम गर्ने उनको भनाइ छ । अर्का कृषक मुक्त बहादुर बसेल पनि धेरै पहिले देखि आलोपालो खेत रोप्ने काम भईरहेको बताउछन। ‘घरपरिवारका मानिसले मात्र गरेर काम सकिदैन ।’उनले भने, ‘अर्मपर्म गर्नै पर्यो ।’
त्यस्तै,अगुवा किसान रेशम सुबेदिले ज्यालादारीमा पनि काम गर्न गर्न नआउनेहरु समेत हिजोआज श्रममा जोडिएको बताए। ‘पोहोर साल खेताला नपाएर समस्या परे थियो’ उनले भने,’यो बर्ष लकडाउनले गर्दा घर आएकाहरु समेत काममा जोडिएका छन।’ ‘ सजिलो भएको छ।’सुबेदिले भने।
यहा आफ्नो खेत नहुने किसानहरुले पनि अरुको खेत अधियाँमा वा ठेक्कामा लिएर जेष्ठमा धान रोप्ने गर्दछन् । अहिले झिमरुक फाँट क्षेत्रमा रोपाइँ गर्न आएका किसानका कारण यहा बेग्लै रौनक देखिएको छ।
४५ प्रतिशत रोपाइँ
जिल्लाभर ४५ प्रतिशत धान रोपाई सकिएको छ। प्युठान नगरपालिकाका कृषि प्रमुख मेघराज पोख्रेलले अहिलेसम्म ४५ प्रतिशत रोपाइँ सकिएको जानकारी दिए ।
झिमरुक फाटको ६ हजार ५ सय हेक्टरमा धानखेती हुन्छ। त्यसमध्ये हाल करिब ५ हजार हेक्टर जमिनमा किसानले धानखेती गर्दै आएको कृषि ज्ञान केन्द्र दाङका अधिकृत उमेश श्रेष्ठले जानकारी दिए।उनका अनुसार खेतियोग्य जमिन प्लटिङ गरिएपछी धान रोपाईको क्षेत्रफल घटेको हो। जिल्लाभर २२ हजार हेक्टर खेतीयोग्य जमिन रहेको बताईन्छ ।
हेर्नुहोस भिडियो