टेकबहादुर पुन, दाङ । कुहिएको चामल बिक्री गर्ने लमहीको एक सप्लायर्सलाई सिल गरिएको छ । राहात बितरणका लागि खरिद गरिएको चामल खान नमिल्ने कुहिएको भेटिएपछी देउखुरी उद्योग बाणिज्य संघ र प्रहरीको टोलीले गोदाम नै सिल गरेको हो ।
राजपुर गाउँपालिका वडा नम्बर ७ बनकट्टीका स्थानीयलाई राहत वितरण गर्नको लागि स्थानिय सामुदायीक बन समुहले खरिद गरेको चामल गुणस्तरहिन रहेको भन्दै फिर्ता लिईएपछी कुरा बाहिर आएको हो । लमहीको आर.के.सप्लायर्सले विक्री गरेको पहेँलो बोरामा चन्दन लेखिएको चामल गुणस्तरहिन भेटिएको छ । उक्त सप्लायर्सबाट राजपुर ७ को भयरथान सामुदायिक वनले आफ्ना उपभोक्तालाई राहत वितरण गर्नको लागि १ सय ६४ बोरा चामल लगेकोमा १ सय ३२ बोरा चामल कुहीएको, धुलैधुलो भएको अवस्थामा फेला परेपछि फिर्ता गर्न ल्याइएको सामुदायिक वनका अध्यक्ष चेतबहादुर ओलीले बताए ।
विक्रेताले सेतो बोराबाट सेम्पल देखाएको तर विक्री गर्दा आफुहरुलाई सेतो संगै पहेँलो बोरामा चन्दन जातको चामल पनि मिसाएर दिएको अध्यक्ष अोलीले जानकारी दिए । उनले २५ किलोका प्रतिबोरा एक हजार एकसय २५ रुपैयाँमा खरिद गरेका थिए । अहिले उक्त सप्लायर्सको चन्दन जातको चामल राखीएको गोदाम सिल गरिएको र थप अनुसन्धान पश्चात दोषीलाई कारवाही गरिने देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठले जानकारी दिए । आउने जाने ढुवानी सहित बिक्रि गरिएको चामल फिर्ता लिएर क्षतीपुर्ती पनि उपलव्ध गराउन सप्लायर्स सञ्चालक सहमत भएका छन् ।
सञ्चालक द्वय आनन्द गुप्ता र इन्द्रमणि खनालले चामल आफुहरुले नहेरेको कारण समस्या भएको बताएका छन् । विरगंजबाट आयात गरिएको उक्त चामल आफुले अबदेखि बिक्री नगर्ने जनाएका छन् । आरके सप्लायर्स, खनाल किराना पसलका प्रोपाइटर इन्द्रमणि खनाल र आनन्द गुप्ताको साझेदारीमा संचालनमा छ । अहिले उक्त सप्लायर्समा रहेको ४२ बोरा चामल र फिर्ता आएको एकसय ४२ बोरा गरी एक सय ८४ बोरा चामल सहितको गोदामलाई सिल गरिएको छ । वडा प्रहरी कार्यालय,उद्योग बाणिज्य संघ,पत्रकारको रोहबरमा मुचुल्का उठाएर गोदाम सिल गरेर अनुसन्धान थालिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिए । अहिले बन्द गरेर अनुसन्धान थालिको छ, दोषीलाई कारबाही गरिने छ उनले भने ।