बुटवल । जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन पाल्पा जिल्लालाई जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ ।
जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जिल्लालाई जेठ ३ गते शनिबार बिहान ५ बजेदेखि ५ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो ।
छिमेकी जिल्ला रुपन्देहीमा २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि पाल्पामा संक्रमण भित्रिन नदिन जिल्ला नै सिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले जानकारी दिए ।‘जिल्ला प्रवेश गर्ने चारै दिशाका नाकाबाट औषधि, एम्बुलेन्स, शव बहानलगायतका अत्यावश्यकीय वस्तुको गाडी बाहेक कुनै पनि सवारीसाधन आउन नदिने र औषधि पसल बाहेक कुनै पनि उद्योग व्यवसाय संचालन नगर्ने निर्णय भएको छ,’ प्रजिअ यादवले भने, ‘पाल्पा कोरोना संक्रमित बिरामी फेला परेका रुपन्देही, नवलपरासी र कपिलवस्तुको सीमामा भएकाले त्यहाँबाट हिँडेरसमेत जिल्ला आउन सक्ने भएकाले जिल्ला नै सिल गरेर उच्च सर्तकता अपनाइएको हो ।’ छिमेकी जिल्ला गुल्मीले भने यसअघि नै जिल्ला सिल गर्ने निर्णय गरेको थियो ।