स्याङजाबाट हिँडेरै भारत फर्कंदै मजदुर

काठमाडौं । लकडाउन भएको पाँच हप्ता भयो। कहिले खुल्छ यसको ठोस जवाफ कसैसँग छैन। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न गरिएको लकडाउनले ज्याला मजदुरी गर्नेहरुले काम गर्न पाएका छैनन्।

काम नपाएपछि गोजीमा भएको दाम सकिँदै गएको छ। लकडाउन खुल्छ कि भन्ने आशमा बसेका ६२ बर्षिय वलदेव शाहले स्याङजाबाट पैदलै भए पनि भारत फर्कने निधो गरे।

स्याङजाको बाँडखोलामा कवाडीको काम गर्दै आएका उनीसहित १३ जनाको समुह बुधबार विहान भारतको मोतिहारी पठायीथानाको यात्रामा निस्किएको खबर आजको नागरिक दैनिकमा तनहुँबाट विनोद ढुंगानाले लेखेका छन्।

विहान सात नबज्दै हिँडेको समूह डाँडाकाँडा छिचोल्दै दिउँसो तीन बजे तनहुँँको दुलेगौँडासिथ्त पृथ्वीराजमार्ग आइपुगे। पोखरा हुँदै आएको भए दुई दिनमा बल्ल यहाँ आइपुग्थे। तर, कोल्मातिरको छोटो बाटो हिँडेका उनीहरु छिट्टै डाँडाकाडा छिचोल्दै राजमार्गमा आए।

चर्को घाममा राजमार्गको छेउमा रुखको छाहारीमा सुस्ताउदै गर्दा उनीहरु भेटिए। प्रायले मुखमा मास्क लगाएका थिए। मास्क नहुनेले गलामा भिरेको गलबन्दीको सर्कोले मुख छोपेका थिए।

८ घण्टाको हिँडाइले लखतरन परेका उनीहरु सबैको साथमा एउटा झोला छ। झोलामा बाटोमा खान पुग्ने चाउचाउ विस्कुट र चिउरा हालेको बताउँछन्। केही जोर कपडा पनि छ।

भारतको मोतिहारी हिँडेको उक्त समूहमा बालकदेखी बृद्धसम्म छन्।पैदलै पुग्ने अठोट छ। करिब चार सय किलोमिटरको दुरीमा पर्ने मोतिहारी हप्ता÷ दश दिनमा दिनमा पुग्ने उनीहरुले जनाए।

गाउँ गाउँमा कवाडी संकलन गरी कमाइखाने आफूहरु लकडाउनको मारमा परेपछि गाउँ फर्किएको शाहले सुनाए।

‘तत्कालै लकडाउन खुल्ने छाँट देखिएन्। लकडाउन भएपछि एक महिनादेखि कवाडी संकलन गर्न पाइएन। काम नहुदाँ कमाई छैन्’, उनले भने, ‘साथमा भएको पैसा सकिन आट्यो। कोरोनाको भन्दा भोकभोकै बस्नुपर्ने डरले सताएपछि घर हिँड्यौँ हामी त।’ घरमा पुगेपछि खेतीपाती लगाएर पनि भोको बस्न नपर्ने उनको भनाई छ।

नेपालको तुलनामा भारतमा कोरोना संक्रमणको जोखिम बढी छ। संक्रमितको संख्या समेत धेरै छ। तर, असुरक्षित हुदाँ हुदैपनि परिवारसँगै मर्ने बाँच्न रहरले घर हिँडेको रामवचन भगतले उल्लेख गरे।

‘यतातिर लकडाउन भएपछि कमाई छैन्। भोकै बस्नुभन्दा परिवारसंगै मर्ने बाँच्ने भनेर हिँडियो’, उनले भने, ‘कोरोनाबाट बाचिएछ भने पछी काम गर्न यतै फर्कन्छौँ।’

उनीहरु होली मनाएर मात्रै गाउँबाट फर्किएका थिए। यति चाँडै गाउँ फर्कने सोच थिएन्।

आएपछि कमाएको दुई चार पैसा पनि घरमा पठाए। लकडाउन लम्बिदै गएपछि दैनिक गुजारा चलाउन मुस्किल भएकाले पैदलै उनीहरु भारततर्फ लागेका हुन्। रामवचनले अगाडी थपे, ‘काम नभएपनि साहुले खर्चपानी दिएको भए हामी बस्थ्यौँ। उसको पनि स्थिती खराब छ। कसरी बस्नु यहाँ ?’

भारततर्फ हिँडेकालाई सीमा नाकाबाटै फकाइएको छ। तर, उनीहरु सीमाको क्वारेन्टाइनमा बस्नुपर्ने समय बसेर गाउँ पुगीछाड्ने बताउँछन्। भोला सोनी भन्छन्, ‘सिमामा क्वारेन्टाइनमा बस्नुपर्ने सुनेका छौँ। गाउँ जान पाउछौँ भने क्वारेन्टाइन बसेर भएपनि जानी हो।’

Sharing Now!

You might also like

Comments are closed.