ऊर्जामन्त्री पुनद्वारा स्वास्थ्य सामग्री प्रदान

काठमाण्डौँ। ऊर्जा, जलश्रोत ताथ सिंचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाण्डौँबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन् ।मन्त्री पुनले पीपीई सेट मात्र १ सय १० थान पठाएका छन् । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् । यस्तै पञ्जा १ जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क १ हजार थानसमेत रोल्पा पठाइएको छ ।रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।यसअघि पहिलो खेपमा मन्त्री पुनले नै पठाएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् ।

Sharing Now!

You might also like

Comments are closed.