प्युठान। यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा परि तीन जना नेपालीसँगै ६ जनाको मृत्यु भएको छ भने एक दाङ घोराहीकी महिलासहित १४ जना नेपाली घाइते भएका छन् । यूएईमा रहेको नेपाली दूतावासले बिहीबार विहान भएको दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारी, प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको मृत्यु भएको जनाएको छ । दुर्घटनामा अन्य बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदारको मृत्यु भएको छ ।
काममा जान २४ जना कामदार चढेको बस दुर्घटना हुँदा घाइते १४ जनामध्ये पाँच जनाको आबुधाबीको खालिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । सिन्धुपाल्चोककी माया तामाङ र सरिता थापा, झापाकी तुलसा थापा र पवित्रा गुरुङ तथा ईलामकी सिता सुब्बाको एनएमसी अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै घाइते पाँच जनाको माफ्राक अस्पतालमा उपचार भइरहेको छ । मकवानपुरको टिस्टुङ पालुङकी रिता सिवाकोटी, चापागाउँ ललितपुरकी कमला नेपाली, झापाकी मुना राई, दाङ घोराहीकी आशा घर्ती मगर र सुजला विश्वकर्मा (ठेगाना नखुलेको) छन् । त्यही अस्पतालमा उपचारत चितवनकी निर्मला प्रजा सामान्य उपचारपछि बिहीवार साँझ नै कम्पनीको क्याम्प फर्किनु भएको छ ।
त्यस्तै अलरहा अस्पतालमा मकवानपुर हेटौँडाकी मिना सिंह, नुवाकोटकी सरिता तामाङ, सुनसरी धरानकी वर्षा विश्वकर्मा उपचाररत हुनु हुन्छ । घाइते १२ जनाको अवस्था सामान्य रहे पनि नुवाकोटकी सरिता तामाङको अवस्था भने चिन्ताजनक रहेको अस्पताललाई उद्धृत गर्दे दूतावासले जनाएको छ ।
यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको थियो ।
यसरी भयो दुर्घटना
आबुधावीबाट दुबईतर्फ जाँदै गरेको बस अल राहा रोडमा दुर्घटना भएको हो । दुर्घटना लापरबाहीपूर्ण ढंगले सवारी चलाउँदा हुन पुगेको प्रहरीको निष्कर्ष छ । आबुधावी प्रहरीले इन्स्टाग्राममार्फत जारी गरेको एक भिडियोमा दुई सामान बोक्ने लरी खतरा बत्तीका साथ सडकको दाहिने लेनमा देखिन्छ । जसको अगाडि एक कार रोकिन खोजेको देखिन्छ ।
त्यतिनै बेला केही गाडी लरीलाई छल्दै तीब्र गतिमा अघि बढ्छन् । तर एक बस भने पछिल्लो लरीको पछाडि ठोक्किन पुग्छ । आबुधावीको यातायात अनुसन्धान विभागका प्रमुख मोहम्मद अब्दुल रहीम अल होसानीका अनुसार दुर्घटनाको खबर पाउना साथ एम्बुलेन्स, उद्दार टोली घटनास्थल पुगेको थियो । तत्कालै उद्दार टोलीले घाइतेलाई अस्पताल पुर्याएको थियो ।