कामना डेली, कपिलवस्तु। कपिलबस्तु र दाङ जिल्लाको पूर्वी सिमानामा रहेको शिवगढी हिजोआज पर्यटन गन्तव्यको रुपमा विकास हुँदै गएको छ । धार्मिक एवं साँस्कृतिक स्थल शिवगढी अध्ययन अनुसन्धानदेखि मनोरञ्जनको समेत राम्रो संभावना बोकेको क्षेत्र भएकाले पनि धेरै ग्रामीण पर्यटकहरु यहाँ पुग्ने गरेका छन । अंग्रेज फौजवाट नेपाल जोगाउनको लागि नेपाली फौजले गरेका क्रियाकलाप ऐतिहासिक रहेको र त्यो नयाँ पुस्ताको लागि समेत अध्यनको स्रोत बन्न सक्ने यहाँ पुगेर फर्कनेहरु बताउछन ।
भत्कदै किल्ला, मेटिदै अबशेष
वुटवल क्षेत्रवाट अग्रेज फौज पश्चिम नेपाल तर्फ अंघि वढेपछि रक्षार्थ शिवगढीलाई किल्लाको रुपमा प्रयोग गरिएको थियो । नेपाल अँग्रेज युद्धको बेला स्थापना गरिएको यो गढीमा शिवराज नामका राजाले राज्य गरेको किवंदन्ती पनि छ । नेपाल अँग्रेज युद्धको समयमा अँग्रेजले शिवराज राज्य दखल गर्न खोजेको थियो । त्यो समयमा शिबगढीमा किल्ला खडा गरी मातृभूमिको रक्षा गरेको देखिन्छ । शिवगढी मन्दिर परिसरमा ऐतिहासिक ढुंगाको पर्खाल छ ।अंग्रेजसँग लड्नका लागि ढुङ्गा थुपारेको हुनसक्ने बताइन्छ । ढुंगाको पर्खालको प्वालले लडन आउने अ्रग्रेजहरुलाई धनुकाँड र गुलेलीले हान्न बनाइएको पनि भनाइ छ । यसका साथै राजाले पूजा गर्ने ठाउँ, पानी पँधेरो, गर्ने स्थानले शिवगढी पुग्नेहरुको लागी अध्यनको बिषय बन्छ । अग्रेजसंगको युद्धमा नेपालीहरुले विभिन्न स्थानमा किल्लाहरु बनाई अंग्रेजहरुलाई प्रवेशमा रोकेका थिए । त्यो प्रमाण भनेकै एउटा शिवगढीलाई लिन सकिन्छ। शिवगढीले हाम्रो पहिचान आज सम्म बचाएको छ । शत्रुहरुलाई परास्त गर्न बनाएको स्थान जसलाई युद्धको भाषामा किल्ला अथवा गढी भनिन्छ । त्यो नै शिवगढी हो । त्यहाँ अहिले एउटा अवजरवेशन (देखभाल) पोष्ट र एउटा सुटिङ्ग (फाएर गर्ने) पोइण्ट रहेको छ । अहिले पनि शिवगढी पुग्नेले ती सुटिङ्ग पोइण्ट र तीन वटा अवजरवेशन पोष्ट भएको स्थान देख्न सक्दछन । शिवगढीमा त्यसबेला युद्धको मोर्चामा खटिएका सैनिक जवानलाई वन्दोबस्तीको लागी निर्माण गरिएको घरको अवशेष पुराना टायल र ईटाका टुक्राहरु देखिन्छ । ढुङ्गाबाट बनाइएको बन्चरो पनि भेटिएको छ । युद्धका लागी निर्माण गरिएका गढी, किल्ला र कोटहरु संरक्षण विहीन भएका छन् । तर “गढी किल्ला” ऐतिहासिक छ । शिवगढीमा एउटा यस्तो स्तम्भ पनि छ जो माटोले पुरिएको छ । शिवगढी परिसरमा रहेको ढुङगाको पर्खाल पुरिदै जान थालेका छन । गढीसँगै इतिहास माटोमा मिल्दै छ । यसको थप अनुसन्धान गर्न आवश्यक देखिन्छ । सरकारले संरक्षणमा चासो नदेखाउँदा सामरिक महत्व राख्ने शिवगढी अवशेषमा सीमित हुन थालेका छन् ।
बन्न सक्छ अध्यन थलो
शिवगढीको यात्रामा तरेली परेका चुरे श्रृखलाका डाडा चराचुरुंगीको चिरविर आवाजमा रम्दै यात्रा गर्नुको मज्जै बेग्लै हुन्छ । यात्रामा जंगलमा विभिन्न अनौठा किरा फट्यांग्राहरु, चरा लगायतको अवलोकन समेत गर्न पाइन्छ । उचित पूर्वाधारको विकास हुने हो भने शिवगढी पर्यटनको गन्तब्य बन्न सक्छ । प्राकृतीक रमणिय वातावरण संग रम्न सक्ने जो कोहिलाई पनि शिवगढीको यात्रा रमणिय हुन्छ । अध्यन अनुसंन्धान गर्ने ग्रामीण पर्यटकहरुका लागी झनै उपलब्धि मुलक हुनेछ । पहाडको चुचुरोमा पुगेर हेर्दा शिवगढीले पहाडलाई बोकेर तराईको मैदानी भागलाई काखमा राखेर बसेको छ भन्ने भान हुन्छ । इतिहासमा रुचि राख्ने ग्रामीण पर्यटकहरुका लागी शिवगढीले धेरै अध्यन गराउछ । शिवगढीमा देखिने पुरातात्विक महत्वका बस्तुले अध्यनको बिषय बनाउछ । शिवगढी टाकुरामा रहेको हुंदा त्यहाँवाट टाढा टाढा सम्म देख्न सकिन्छ । शिवगढीलाई शक्तिपिठको रुपमा पनि मान्ने गरिन्छ । शिवगढीमा सतिदेवीको जिव्रो पतन भएको जनविस्वास छ । शिवगढीको चुरे श्रृखलाको पहाड प्राचिन सभ्यताको धरोहर भूमिको चिनिन्छ । शिवगढीमा प्रत्येक शिवरात्रीमा ठूलो भेला लाग्छ ।मन्दिरको केही तलतिर १४ वर्षसम्म भगवान शिवको तपस्यामा बसेका बाबाहरूको कुटीसमेत छ। जसलाई मौनी बाबा भनेर पनि चिनिन्छ।
कसरी पुग्ने?
शिवगढी दाङ र कपिलवस्तु जिल्लाको सिमाना राजमार्ग धानखोलाबाट मात्र ७ कि.मीको दुरी पर्दछ । धानखोलाको दक्षिण पश्चिम पछिको चुरे पहाडको चुचुरोमा शिव गढी मन्दिर अवस्थित रहेको छ। शिवगढी जानको लागी धानखोलाबाट १३ सय मिटर तेर्पिलो घोरेटो बाटोको यात्रा पछि उकालो यात्राको सुरुवात हुन्छ । नागवेली आकारको बाटो जति माथी चडाई चढदै गयो उतिनै शितलको अनुभुती गर्दै करिव तीन घण्टाको यात्रामा शिवगढीको चुचुरोमा पुग्न सकिन्छ । शिवगढी मन्दिरको केहि तलतिर चौध वर्ष शिवको तपस्यामा वसेको कुटि रहेको छ । जसलाई मौनि कुटि बाबा भनेर चिन्ने गरिन्छ । शिवगढी सामुद्रिक सतहवाट १ हजार ४९१ मिटर उचाईमा पर्दछ । शिवगढीबाट देखिने देउखुरी उपत्यकाको दृश्य र बिहान सूर्याेदयले चम्काएको प्राकृतिक डाडाकाडाको मुस्कान देख्दा मोहित नहुने सायद कमै होलान । वरिपरि देखिने चुरे श्रृखलाको अवलोकन र स्वच्छ पर्यावरणमा रम्नकालागि शिवगढी रमणिय स्थल मानिन्छ ।