टेकबहादुर पुन, लमही । धेरै धन कमाउने सपना बोकेर दाङको लमही ६ देउपुर निवासी ४० बर्षिय टेकबहादुर महरा कतार पुगे । त्यहाँ २ वर्ष बिताए उनले । दैनिक १४/१५ घण्टा काममा घोटिईनुपर्थ्यो । उनले ड्राईभर काम गर्ने भएपनि भने जस्तो कमाइ भएन । खाडीको चर्को घाम, कहिले भोकै प्यासै, कहिले अनिदै काम गर्नुको सकस कम्ती थिएन महरालाई । ‘लामो डिउटीले गर्दा खानाको टुङ्गो हुन्थेन’ उनले दुखेसो पोख्दै भने’ ‘भोकै प्यासै काम गर्नुपर्थ्यो’। बाबु आमालाई जति सन्तानको पीर कस्लाई लागोस र ? महराका साना नानिबाबु, ताते ताते खेलाउने ईच्छा कस्को बाबालाई नहुँदो होर? परिवारबाट टाढा बस्नु पर्दाको पीडा पनि भोगे उनले । ‘छोराछोरीको याद आंउथ्यो घर संझन्थे र रुन्थे’ महराले भने ।
फेरि युएई
जवान छँदा धनको लालसामा खाँडि पुगेका महराका लागि कतार सोचे जस्तो भएन। त्कि तै पनि हिम्मत हारेन्न उनले। अझ केही हुन्छ कि भन्ने लागेर कतारबाट फर्किए लगत्तै फेरि युएई हानिए उनी । हातमा कुनै सिप थिएन। गाडी चलाउने सीप त थियो तर,त्यो काम पाउन पनि त पर्यो? सजिलो काम र राम्रो कमाइ फेरि पनि भएन। युएईमा झनै दुख झेले उनले । मासिक तलब रासन पानीमै सकिन्थ्यो । उनमा स्वदेशमै केही गर्नुपर्छ भन्ने भावना पलायो र जाँदाको कर्जा नै नतिरी घर फर्किए । ‘जवानीको रहरले परदेशको दुःखमा पुर्याएर नराम्रोसँग पछार्यो,’ उनी विगत सम्झन्छन्।
बाई बाई काठमाडौ
उनले जानेको एउटै काम थियो ड्राईभर । युएईबाट फर्किए लगत्तै पनि उनले काठमाण्डौमा साहुको गाडी चलाए । मासिक ७ हजार रुपैया पाउँथे उनले । ७ हजारले के पुग्थ्यो र ५ जनाको परिवारलाई ? उनका १ छोरी र २ छोरा छन् । राजधानीको महँगी त्यहीमाथी सबै किनेर खानुपर्ने । “प्रगतीको लागि गाउँ छोड्नुपर्छ, बुढापाकाले भनेको सुन्थे, महराले भने-राजधानीमा हामि जस्ताको काम भएन ।”सबै परिवार सहित जेनतेन करिब ६ बर्ष काठमाण्डौमै बिताए उनले । धर्म र मानवताको अभाबले उनले बिदेशसँगै काठमाण्डौलाई पनि बाई बाई भन्दै गाउँ फर्किए ।
गाउँमै खुसी
राजधानीबाट फर्किए लगत्तै उनले लमहीमा जलजला टेक्निकल नामक रिसर्च सेन्टरको स्थापना गरे । जसले ईलेक्ट्रिक सम्बन्धी सम्पुर्ण काम गर्छ । रिसर्च सेन्टर बिस्तारै फस्टाउँदै गएपछी उनले कुखुरा पालन पनि शुरु गरे । उनिसँग अहिले दुईअोटा खोरमा लोकल कुखुरा, ब्रोईलर कुखुरा र परेवाले भरिभराउ छन् । बिस्तारै उनले माछा पालन ब्यबसाय पनि शुरु गरेका छन् । सबैजातका माछा मासु एउटै छानामुनी उपलब्ध गराउने उद्देश्यले व्यावसाय शुरु गरेको महराले जानकारी दिए । जेनतेन ऋण कर्जा गरी उनले २ लाख ५० हजारमा पालन शुरु गरेका हुन् । ग्राहकले भने अनुसारको जिउँदो अथवा फ्रेस मासु उपलब्ध गराउँछन उनी । यतिमात्र हैन महराले पय्राप्त सेवा सुबिधा सहित “जलजला खाजा घर एण्ड फ्राई कर्नर” पनि स्थापना गरेका छन् । किराना पसल समेत सञ्चालनमा ल्याएका महराले अर्डर अनुसारका माछा मासु डेलिभरी पनि गर्छन् । दुख सुख अाफ्नै गाउँ ठाउँमा गर्नेभनि बिदेश र राजधानी माया मारेका महरा अाफ्नो परिवारलाई कृषिमै निर्भर गराउने सोचमा छन् । निकै कष्टकर जीवन बिताएका महराले भने-४० कटेपछी रमाउने शब्द मेरो जीवन सँग मेल खायो । जीवनमा गाडी नै नचलाउने निधो गरेका महराले सबै ब्यबसायबाट मासिक ४० हजार बचाउँछन् । करिब एक दशक भन्दा बढि गाउँ बाहिर बसेका महराले भने गर्न सके कृषिमै सफल भईने रहेछ ।